बालश्रम गराउन लगिरहेको आशङ्कामा ११ बालकसहित १४ जना पक्राउ

वीरगन्ज, २६ फागुन । प्रहरीले भारतको कर्नाटकमा बालश्रम गराउन लगिरहेको आशङ्कामा ११ बालकसहित १४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

नियमित जाँचका क्रममा प्रहरीचौकी इनर्वाले अभिभावकविहीन अवस्थामा बालकहरू भेटिएको र उनीहरूलाई भारततर्फ बालश्रमिकका रूपमा लान खोजिएको आशङ्कामा पक्राउ गरेको हो । वीरगन्जबाट टेम्पोमा चढेर सीमावर्ती भारतीय सहर रक्सौलस्थित रेल चढ्न जान लागिरहेको अवस्थामा उनीहरूलाई नेपाल–भारत सीमास्थित शङ्कराचार्यद्वारको नजिकबाट पक्राउ गरिएको हो । पक्राउ पर्ने बालकहरूमा मकवानपुर राई गाउँका फुर्साङ तामाङ, साङ्ग मोक्ता र शेरप थिङ, मकवानपुर थापरबारीका वीरबहादुर घिसिङ, बारा डुबरवानाका बुद्ध लामा, अमित घलान, प्रमोद परियार, स्याङ मोक्ताङ र लालबहादुर मोक्ताङ, सर्लाही लालबन्दीका सानुकाजी मोक्ताङ तथा रौतहट सुरसाका नवल तमाङ रहेका छन् ।

पक्राउ परेका बालकहरू नौदेखि १२ वर्ष उमेर समूहका रहेका छन् । उनीहरूलाई भारततर्फ लान खोज्ने मकवानपुर राई गाउँ—९ का ३० वर्षीय युवक थिङ, रोतहट रङ्गपुर—५ का २१ वर्षीय देवप्रसाद लामा र बारा डुबरवानाका २१ वर्षीय दुर्गाबहादुर लोप्चानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीचौकी इनर्वाका प्रहरी नायब निरीक्षक गोपाल यादवले बताउनुभयो ।