अश्लील फिल्म देखाउने हलमा छापा

सेन्सर नगरी लामो समयदेखि अश्लील फिल्म देखाउँदै आएको जनकपुरको एक हलमा चलचित्र विकास बोर्डले छापा मारेको छ । चलचित्र बिकास बोर्डको अनुगमन समितिले मंगलबार अश्लील फिल्म देखाइरहेको अबस्थामा छापा मारेको हो ।


जनकपुरको ‘हनुमान टाँकिज’ सिनेमाहलले सेन्सर नगरिएको अश्लील फिल्म ‘तनकी आग’ प्रदर्शन गरिरहेको अबस्थामा रंगेहात भेटेको हो । अनुगमन समितिमा सेन्सरबोर्डका सदस्य चेतन सापकोटाका अनुसार बिभिन्न नामका १६ वटा अश्लील डीभीडी भेटिएको छन् । जिल्ला प्रहरी कार्यालयको सहयोगमा सो हलको डीभीडी प्लेयर र अश्लील फिल्महरु जफत गरिएको छ ।

सो हलले लामो समयदेखि चलचित्र बिकास सुल्क पनि नतिरेको खुल्न आएको छ । बाहिर सभ्य हिन्दी सिनेमाको पोष्टर टाँसेर भित्र अश्लील फिल्म देखाएकोमा अनुगमन समितिका उदय सुब्बा अचम्ममा परेका छन् । सो हलका संचालक तथा कर्मचारी गोप्य ढोकाबाट भागेकोले भेट्न नसकिएको बताए ।

यस्तै सेन्सर नगरी भोजपुरी सिनेमा प्रदर्शन गरिरहेको भेटेपछि बाराको जितपुरस्थित जयलक्षमी हललाई तत्कालै बन्द गर्न अनुगमन समितिले आदेश दिएको छ । वीरगन्जको सत्या सिनेमा हलले पनि अढाई बर्षदेखि नवीकरण नगरी संचालन गरको पाइएपछि तत्काल नवीकरग गर्न पत्र पठाइएको छ ।

देशभरका थुप्रै हलहरुमा अश्लिल फिल्म देखाइने गरेको, नविकरण र बिकाश शुल्क नतिरेको लगायतका गुनासा आएपछि सेन्सर टोली हल अनुगमनमा निस्केको हो ।