भारतीय जवानद्वारा नेपाली महिला बलात्कृत

चैत १५ - कैलालीको दक्षिणी सीमावर्ती पवेरा गाविस वडा नं १ की एक महिलालाई भारतीय सीमा सुरक्षा बल(एसएसबी) का एक जवानले मङ्गलबार जबर्जस्ती करणी गरेका छन् ।



आफ्नो छोराको उपचार गराई धनगढीबाट भारतको बाटो हुँदै घरतर्फ गइरहेकी ती महिलालाई सीमा क्षेत्रको चन्दन चौकीका एसएसबीका एक जवानले जङ्गलभित्र लगेर करणी गरेका घटनाको अध्ययनले देखाएको पवेरा प्रहरु चौकीले जनाएको छ ।

जङ्गलमा करणी गरिरहेको अवस्थामा ती महिलाको छोरा रोएको आवाज सुनिएपछि नजिकैको नेपाली कटान गाउँबाट गएका युवाको समूहले करणीमा संलग्न हुनेलाई कुटपिटसमेत गरेको बताइएको छ।ती महिलाको अवस्था सामान्य रहेको बताइएको छ ।

करणी गर्ने एसएसबीकै प्रहरी भए पनि उनको नाम भने खुल्न सकेको छैन। घटनापछि आज पवेरा क्षेत्रबाट गएका पीडित पक्षका नेपालीले चन्दन चौकी आसपासमा प्रदर्शनसमेत गरेका छन् ।

चन्दन चौकी कार्यालयका एसएसबी प्रमुखले आफ्ना कर्मचारीबाट त्यस्तो काम नभएको जिकिर गरेको ती अधिकारीलाई उद्धृत गर्दै पवेरा प्रहरी चौकीका प्रमुख करनसिं धामीले बताए। एसएसबीका प्रमुखले आफ्ना कर्मचारीबाट त्यस्तो गलत काम भएको प्रमाणित भएमा अभियुक्तलाई तत्काल कारबाही गर्ने आश्वासन दिएपछि नेपाली त्यहाँबाट फर्किएका छन्। रासस