बन्दमा कहाँ के-के भो ?

उपत्यकामा चार पक्राउ, रुकुममा गाडी तोडफोड

२३ फागुन, काठमाडौं । नेकपा-माओवादीसहितको संयुक्त मोर्चाले आहृवान गरेको आजको नेपाल बन्दका कारण काठमाडौँ उपत्याकालगायत देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ ।बन्दका कारण उद्योग, कलकारखाना, शिक्षालय, यातायात तथा बजार ठप्प रहेको छ । सडकमा फाट्टफुट्टरूपमा मोटरसाइकल भने चलेका छन् भने अधिकांश मानिसहरू हिंडेर आफ्नो गन्तव्यतर्फ जान बाध्य भएका छन् । बन्दका क्रममा अहिलेसम्म कुनै अपि्रय र हिंसात्मक घटना भने नभएको प्रहरीले जनाएको छ ।



बन्दकर्ताले चोकचोकमा बसेर सवारीसाधानलाई चल्न दिएका छैनन् । उपत्यका भित्रिने सार्वजनिक यातायातका रात्रिबस र मालबाहक ट्रकहरु ढुङ्गेअड्डामा रोकिएका छन् । नेकपा-माओवादीका केन्द्रीय सदस्य दिनेश शर्माले बन्द शान्तिपूर्ण भएको र यस क्रममा उपत्यकाका विभिन्न स्थानबाट आफ्ना चारजना कार्यकर्तालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको जानकारी दिनुभयो । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने मुख्य दलको तयारी गैह्रजिम्मेवार र संविधानविपरीत भएको तथा दलहरूका बीचबाटै प्रधानमन्त्रीको चयन गरिनुपर्ने भन्दै आज संयुक्त मोर्चाले बन्द आहृवान गरेको हो । बन्दकर्ताहरु सडकमा नाँचगान गरिरहेका देखिन्छन् भने प्रेस, दूध ढुवानी, फोहोरका गाडी, पानीका ट्याङकर, कूटनीतिक नियोग तथा पर्यटनका सवारी साधन निर्वाधरुपमा चलेका छन् ।

झापा- पूर्व-पश्चिम राजमार्गका साथै झापा जिल्लास्थित सहायक मार्गमा बिहानैदेखि सार्वजनिक यातायतका साधन नचलेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । बन्दको प्रभाव झापाका शिक्षण संस्थामा पनि परेको छ । बिहानको समयमा पढाइ सुरु हुने विद्यालयमा पढाइ ठप्प भएको छ । आमहड्तालपूर्व मङ्गलबार साँझ संयुक्त मोर्चाले इलामको ठूलो टुँडिखेलदेखि चोकबजारसम्म राँके जुलुससमेत प्रर्दशन गरेका थिए ।

विराटनगर- बन्दबाट विराटनगरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण अहिलेसम्म कुनै अपि्रय घटना नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पर्सा- बन्द आहृवानका कारण आज बिहानैबाट वीरगन्जबाट छुट्ने लामो दूरीका सवारीसाधन पूर्णरुपमा ठप्प भएका छन् भने छोटो दूरीका सवारीसाधन पनि सञ्चालनमा आउन सकेका छैनन् । बन्दका कारण यहाँका शैक्षिक संस्था, यातयात तथा कलकारखाना पनि ठप्प भएका छन् । वीरगन्ज पथलैया र वीरगन्ज कलैया सडकखण्डमा पनि निजी सवारीसाधन मात्रै सञ्चालनमा आएका छन् ।

स्याङ्जा- बन्दको प्रभाव स्याङ्जामा आज बिहानैदेखि पूर्णरुपमा परेको छ । बन्दका कारण सिद्धार्थ राजमार्गमा बिहानैदेखि कुनै पनि सवारीसाधन चलेका छैनन् भने विद्यालय, क्याम्पस, उद्योगधन्दा, पसल सबै ठप्प रहेका छन् । बन्दको मार सबैभन्दा बढी परीक्षाको तयारीमा बसेका विद्यार्थीलाई परेको छ । उनीहरुले बन्दको विकल्प खोज्न बन्दकर्तालाई आग्रहसमेत गरेका थिए । बन्दलाई सफल बनाउन भन्दै नेकपा-माओवादीका कार्यकर्ता बिहानैदेखि सडकका चोकचोकमा देखिएका छन् ।

हेटौँडा- बन्दको कार्यक्रमले मकवानपुर जिल्लालाई पनि प्रभावित पारेको छ । हेटौँडाबाट काठमाडौँलगायत अन्य सहरमा जाने लामो दूरीका यातायातका साधान आज बिहानैबाट ठप्प भएका छन् । त्यसैगरी, हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योग, शिक्षण संस्था र हेटौँडा बजार पनि आज बिहानैदेखि बन्द भएका छन् । चितवन- बन्दका कारण आज बिहानैदेखि चितवनको जनजीवन कष्टकर बनेको छ । बिहानैबाट बजार तथा पसल बन्द छन् भने सवारीसाधन पनि चल्न सकेका छैनन् । चितवन हुँदै काठमाडाँै भित्रिने र बाहिरिने गाडी ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । साइकल र मोटरसाइकल भने फाट्टफुट्ट सञ्चालनमा आएका छन् ।

गोरखा- सङ्घीय जनगणतान्त्रिक मोर्चाको बन्दले आज गोरखाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सहरी तथा ग्रामीण क्षेत्रमा जाने सवारीसाधन चलेका छैनन् । उद्योग कलकारखाना र शिक्षण संस्था पूर्णरुपमा बन्द छन् ।

नुवाकोट-बन्दले जिल्लाको जनजीवन कष्टकर बनेको छ । नुवाकोटमा विदुर खानेपानी उपभोक्ता समितिको पाँचाँै अधिवेशनअन्तर्गत आज चुनाव भएकाले बन्दकर्ताले सदरमुकाममा फाट्टफुट्ट सवारीसाधन सञ्चालन हुन दिएका छन् । यसै क्रममा आज बिहान रसुवाको माझागाउँमा बा ४६प ५९६९ नम्बरको मोटरसाइकल र नुवाकोटको बट्टारमा एक लोकल माइक्रोबसमा तोडफोड भएको छ । लामो दूरीअन्तर्गत नुवाकोटबाट काठमाडौँ जाने यातायात भने चलेका छैनन् । बन्दले रसुवाको लाङटाङ पुगेका पर्यटक प्रभावित भएका छन् ।

तनहुँ- बन्दकर्ताले तनहुँको मुख्य बजारको चोकचोकमा बसेर अत्यावश्यक सवारीसाधानबाहेक अन्य सवारी चल्न दिएका छैनन् भने पसल पनि पूर्णरुपमा बन्द रहेका छन् । त्यसैगरी अधिकांश सरकारी कार्यालयका कर्मचारी सदरमुकाम दमौलीभन्दा टाढाबाट आउने हुँदा उक्त कार्यालयबाट सेवाग्राहीले पाउने सेवाहरु पनि पाउन सकेका छैनन् । महोत्तरी- बन्दको प्रभाव महोत्तरी जिल्लामा पनि परेको छ । जनकपुर, जलेश्वर, भिठ्ठामोर, मटिहानी, सम्सी बर्दिवास सडकखण्ड र पूर्व-पश्चिम राजमार्गमा यातायातको साधन बिहानदेखि चलेका छैनन् ।

रुकुम- बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले एउटा गाडीमा तोडफोड गरेका छन् । सदरमुकाम खलङ्गाबाट रुकुमकोट जाँदै गरेको लु १ ज १८१८ नम्बरको यात्रुबाहक जिपमा नेकपा-माओवादीका कार्यकर्ताले तोडफोड गरेका हुन् । खलङ्गा गाविस-८ रातामाटामा जिप रोकी यात्रु ओरालेर बन्दकर्ताले जिपमा ढुङ्गा र लाठी प्रहार गरेका थिए । तोडफोडबाट जिपका सिसा फुटेका छन् । बन्दका कारण जिल्लाको जनजीवन प्रभावित हुनुका साथै जिल्ला बाहिर चल्ने गाडि भने बिहानैदेखि ठप्प भएका छन् ।

डडेल्धुरा- सुदूरपश्चिमका पहाडी जिल्लामा बन्दको आंशिक प्रभाव परेको छ । बजार तथा यातायात पूर्णरुपमा ठप्प भए पनि कार्यालय, शैक्षिक संस्था तथा घरेलु तथा साना कलकारखाना बिहानैदेखि सुचारु छन् । सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, बाजुरा तथा अछामको यातायात र मुख्य बजार मात्र बन्द छन् । बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएपछि हजारौँ यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । व्यापार व्यवसाय बिहानैदेखि पूर्णरुपमा ठप्प रहेको छ । रासस