रिसाएका साथी(प्रेमी/प्रेमिका)लाई कसरी फकाउने

श्रीमान्-श्रीमतीको सम्बन्ध जति देख्दा बलियो र अन्तरंग देखिन्छ, यो त्यति नै कमजोर पनि हुन्छ। दुवै एक-अर्कालाई माया गर्छन्। दुवै मिलेर जीवनको सबै सुख-दुःख, खुसी, आँसु बाँड्छन्। एक-अर्काको साथ र मायाको सहाराले उनीहरू जीवनका राम्रा-नराम्रा, गाह्रो सजिलो समयमा



एक-अर्काको ढाल र ताकत बन्छन्। उनीहरू एक-अर्काको बानी परिसकेका हुन्छन्। यति नजिकको सम्बन्ध हुँदाहुँदै पनि कहिलेकाहीँ श्रीमान्-श्रीमतीबीच मनमुटाव उत्पन्न हुन्छ तर समझदार साथी त्यसलाई भनिन्छ जसले रिसाएको आफ्नो साथीलाई फकाउन सक्छ। यसो नगरेको खण्डमा सानो मनमुटावले पनि ठूलो रूप लिन सक्छ।

प्रायः श्रीमतीहरू नै रिसाउँछन् र यो उनीहरूको जन्मसिद्ध अधिकार पनि हो। कहिलेकाहीँ आफ्ना श्रीमान्लाई पनि रिसाउने मौका दिनुहोस् र आफू फकाउनतिर लाग्नुहोस्। रिसाउनु-फकाउनु पनि मायाकै एउटा रूप हो तर यदि दुवै रिसाए भने यो मायाले विवादको रूप धारण गर्न सक्छ। यस्तो स्थिति आउन दिनुहुँदैन।

आफूलाई उदार बनाउनुहोस्ः

आफूलाई क्षमावान् र उदार बनाउनुहोस्। आफ्ना साथीको चाप्लुसी गर्नुपरे पनि नहिचकिचाउनुहोस्, किनभने मायाको मख्खनमा चिप्लेर नै साथीको रिस हराउँछ। उनको हरेक आवश्यक काम समयअघि नै गरिदिनुहोस्।

श्रीमान्को आँखा खुल्नुअघि नै चिया र पत्रिका उनको ओछ्यानमै पुर्‍याउनुहोस्।

उनको ब्रसमा अघि नै टुथपेष्ट लगाएर राखिदिनुहोस्।

उनी आउनुअघि नै ड्रेसिङ टेबलमा सेविङका सामानको व्यवस्था गरिदिनुहोस्।

नुहाएर निस्कनुअघि नै उनको लुगा, जुत्ता, मोजा रुमाल आदि ठीक पारिदिनुहोस्।

खाना खाइसकेपछि अफिसका आवश्यक सामान लिएर ढोकामा उभिनुहोस्।

यसो गर्नाले श्रीमान् (साथी) खुसी हुन थाल्छन्।

पाक कलालाई आफ्नो हतियार बनाउनुहोस्ः

श्रीमान्लाई फकाउन पाक कलालाई आफ्नो हतियार बनाउनुहोस्। बिहानको खाजादेखि बेलुकाको खानासम्म उनलाई मन पर्ने परिकार बनाउनुहोस् जसले श्रीमान्को मुखबाट प्रशंसाका शब्दहरू निस्किउन्।

स-साना कागजको टुक्रामा सरी, आई लव यू, एकपटक मुस्काउनु न... जस्ता शब्दहरू लेखेर श्रीमान्का आँखा सजिलै पर्ने ठाउँमा राख्नुहोस्।

साँझ अफिसबाट र्फकंदा श्रीमान्लाई मनपर्ने रंगको पहिरन र मेकअप गरेर अरू दिनभन्दा छुट्टै देखिएर बस्नुहोस्। उनको स्वागत चियाको कपले हाँसेर गर्नुहोस्।

राति जब श्रीमान् टेलिभिजन हेर्न लागेका हुन्छन् आफ्नो सुत्ने कोठालाई राम्रोसँग सजाउनुहोस् र राम्रो

बेडसिट ओछ्याउनुहोस्।

मादक वातावरण बनाउनुहोस्ः

फूल र सुगन्धले वातावरणलाई मादक बनाउँछ। कोठालाई फूलले सजाउनुहोस् र उनलाई मनपर्ने परफ्युमले आफू र कोठालाई सुगन्धित बनाउनुहोस्।

यदि इच्छा लाग्छ भने उनका लागि कुनै सरप्राइज गिफ्ट पनि तयार गर्न सकिन्छ।

महत्त्वपूर्ण कुरा, जुन समयमा श्रीमान्को आँखा आफूतिर पर्छ त्यतिबेला अलिकति मस्केर हाँस्न नबिर्सनुहोस्।