साउन यता राजधानीमै २६ सय सवारी दुर्घटना !
९८ को मृत्यु, १८ सयभन्दा बढी घाइते

२२ फागुन, काठमाडौं । गाउँ-ठाउँमा घुम्ती र मोड भएका कच्ची सडकमा बस चढेका बेला सडक छेउकुनाका कहालीलाग्दा भीर-पहरा देख्दा धेरैलाई लाग्छ-यस्तो बाटो कहिल्यै गाडीमा हिँड्न नपरोस् । भीरमा यात्रा गर्नुभन्दा शहरका चिल्ला सडकमै गुड्न पाए हुन्थ्यो भन्ने सबैलाई लाग्छ । तर, चिल्लो, सम्म र फराकिलो देखिने राजधानीभित्रै हुने सवारी दुर्घटनाको तथ्यांक हेर्ने हो भने निकै कहालीलाग्दो देखिन्छ ।

राणा शासनको समयमा शासक वर्गका सीमित बग्गी कुदाउन बनाइएको सडकको क्षमताले नधान्ने सवारी साधनका कारण दुर्घटना दोहोरिने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । राजधानीमा अरुबेलाभन्दा जाडोयाममा सवारी दुर्घटना बढी हुने गरेको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार पुसमा उपत्यकामा भएका सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । माघमा यो संख्या १९ छ । मादक पदार्थ सेवन बिरुद्धको कार्वाही, सिटबेल्ट र आकाशेपूलको प्रयोग लगायतका अभियानमा कडाई गरिएपनि दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने झन बढेको छ ।

साउनदेखि माघ महिनासम्मको हिसाब गर्दा राजधानीमा मात्रै सडक दुर्घटनामा परी ९८ जनाको मृत्यु भएको छ । यस अवधिमा सानाठूला गरी २ हजार ६ सय ५३ वटा सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा १ हजार ८ सय ३३ जना घाइते भएका छन् । दुर्घटना न्युनीकरणका लागि प्रहरीले बिभिन्न अभियान चलाइरहे पनि कहालीलाग्दा दुर्घटना भैरहेकै छन् । भीर-पहरा, उकाली-ओराली र कच्ची सडक नभएका राजधानीमा त यो हाल छ भने राजधानी बाहिरका जिल्लाको अवस्था कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । आइतबार राति मात्रै पाल्पामा भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु भयो । दुई दर्जन भन्दा बढी घाइते भएका छन् ।

उपत्यकामा कुन महिनामा कति दुर्घटना ?

दुर्घटनाको कारण :



शहरदेखि ग्रामीणस्तरसम्मको साँघुरो सडक, कच्ची बाटो, भौगोलिक बनावट, खुल्ला प्रतिष्पर्धा, ट्राफिक नियमको उल्लंघन, लाइसेन्स वितरणमा घूसखोरी, तीव्रगति, मद्यपान, धूमपान, क्षमताभन्दा बढी यात्रु ओसार्ने, गाडीको नियमित चेकजाँच र मर्मत नगर्ने, ट्राफिक नियम र ज्ञानको अभाव सडक दुर्घटनाका मुख्य कारण हुन् ।

जाडोमै बढी किन ?

ट्राफिक प्रहरी महाशाखाको तथ्याँक अनुसार उपत्यकामा जाडो महिनामा बढी सवारी दुर्घटना हुने गरेको छ । ‘जाडोमा हुस्सु, कुहिरो लाग्ने र मापसे गर्नेहरु बढी हुने गरेकाले दुर्घटना बढी हुने गरेको हो’ ट्राफिक प्रहरी प्रवक्ता पवन गिरीले अनलाइनखबरसित भन्नुभयो । यस्तोबेला ज्यालामजदुरी गर्ने पैदलयात्रीले समेत मापसे गरेर जथाभावी हिँड्ने गर्दा गाडीले ठक्कर दिने सम्भावना बढी हुन्छ ।

तथ्यांक नै दिन सक्दैन प्रहरी

देशभर भएका घटना र दुर्घटनाको अभिलेख राख्ने काम प्रहरीको हो । तर प्रहरीसँग काठमाडौं उपत्यकामा भएका दुर्घटनाको मात्र तथ्यांक छ । ट्राफिक प्रहरी महाशाखाले राजधानीमा हुने साना दुर्घटनाको पनि हिसाब राख्छ । तर देशका बिभिन्न ठाउँमा भएका ठूला दुर्घटनाको अभिलेख राख्दैन । सबै ठाउँको दुर्घटना प्रहरी मुख्यालयले हेर्ने महाशाखाका एक प्रहरी अधिकृतले भने । तर, प्रहरी मुख्यालको अभिलेख र जनसम्पर्क शाखामा सम्पर्क गर्दा पनि तथ्यांक पाउन सकिएन । तथ्यांक चाहिने भए सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने मुख्यालयका एक प्रहरी अधिकृतले जवाफ दिए ।